टीकापुर नगरपालिकामा यहाँलाई स्वागत छ

नामाकरणः
नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत पर्ने सेती अञ्चलको पूर्वी जिल्ला कैलालीको पनि पूर्वी भागमा कर्णाली नदीको तटमा अवस्थित टीकापुर, २०५३ साल माघ १७ गते देशभर एकैपटक घोषणा भएका १५ नगरपालिका मध्ये एक नगरपालिका हो । यो ठाउँ सुरु–सुरुमा घना जंगल भएको ठाउँ हो । पछि गएर मानिसहरुको वस्ती बस्ने क्रममा यहाँका गाउँहरु “टीका” जस्तै गरि गोला भएर बसेकोले यस ठाउँको नाम “टीकापुर” रहन गएको हो ।
यस्तै स्थानीय बासिन्दाको अर्को भनाई अनुसार यसको नाम टीकापुर रहनुको पछाडी एउटा के रहेछ भने यस ठाउँमा जब जंगल फाँडेर वस्ती बसाउँदा जंगल फाँड्ने काम चाँही टीकाकै दिनदेखि सुरु गरिएको रहेछ । जंगल फाँडी सकेर जब गाउँ बन्यो, त्यसको नाम “टीकापुर” रहन गयो ।
यो ठाउँ महेन्द्र राजमार्गमा पर्ने लम्की वजार देखि १४ कि.मी दीक्षण पट्टि भारतको सिमाना देखि १४ किलोमिटर उत्तर, पथरैया नदीको पूर्व र कर्णाली नदीको पश्चिममा अवस्थित छ ।
ऐतिहासिक पृष्ठभूमी:
अहिले टीकापुर नगरपालिका लगभग १० हजार ५ सय विगाहाको क्षेत्रफलमा फैलिएको छ । सुरु–सुरुमा यसै क्षेत्रफल भित्र दुईवटा गाउँ पञ्चायतको अस्तित्व थियो । एउटा मौरनिया गाउँ पञ्चायत र अर्को मनिकापुर गाउँ पञ्चायत । पछि २०३२ साल मंसिर २६ गते दुवैलाई एकिकृत गरि टीकापुर गाउँ पञ्चायतको निर्माण गरियो, नगरपालिकाका घोषणा हुनुपूर्व “नगरोन्मुख गाउँ विकास समिति” थियो ।
यस नगरपालिकाको ऐतिहासिक पृष्ठभूमी खोज्दै जाने हो भने यस नगरपालिकाको धर्तीले नेपाल अधिराज्यको केही समयको लागी शासन सत्ता संचालन गर्ने थलो बन्ने सौभाग्यसमेत प्राप्त गरेको थियो । २०२४ साल चैत्र २४ गते श्री ५ महेन्द्रलाई शाही चिकित्सकको सल्लाह बमोजिम अण्डैया सवारी क्याम्पको बर्मा बरकौलामा (कञ्चनपुर महाकालीको किनार) एक्कासी मुटुको व्याथाबाट पीडित होईबक्सदा कर्णाली नदीको किनारमा (यस नगरपालिकाको दक्षिणी भाग) सवारी चलाइयो । केही समय यहीबाटै राज्य संचालनको क्रम सुरु भयो । यसरी केही समय भए पनि राज्य संचालन गर्ने थलो बन्न सफल यस ठाउलाई चीरस्थायी बनाउन विकास समिति ऐन,२०१३ अनुसार यसको विकासको लागी टीकापुर विकास समितिको स्थापना गरियो । जसअन्तर्गत ३३५२—४—१७ विगाहा जमिन २०२७ सालमा श्री ५ को सरकारले स्वीकृत प्रदान गरेर दिइयो । यसपछी २०२८ सालदेखी टीकापुर विकास समितिले आप्mनो लक्ष्य अनुरुप कार्य प्रारम्भ गर्यो ।
यस योजनाको लक्ष्यअनुसार अन्दाजी ३ हजार विगाहा जमिनमध्ये १ हजार विगाहा जमिनमा आधुनिक यान्त्रिक खेती गर्ने, १ हजार विगाहामा आधुनिक वन जंगल पाल्ने, ८ सय विगाहा जमिनमा प्रति परिवार ४ विगाहाका दरले सुकुम्वासी बसाउने र बांकी २ सय विगाहा जमिनमा योजनाबद्ध नगर बसाउने योजना थियो तर यथार्थमा यसका संचालकहरुले समय—समयमा आफ्नै प्रकारको निर्णय गरी उक्त योजनाअनुसार नगई मनोमानी हिसावले गएको पाइन्छ । जसले हाल आएर १ हजार विगाहाको यान्त्रिक खेतीको नाममा १ विगाहासम्म पनि यान्त्रिक खेती भएको छैन । १ हजार विगाहामा आधुनिक जंगल पाल्ने नाममा केवल ६ सय विगाहा जतिमा मात्र जंगल छ, यो पनि भने जस्तो छैन । २ सय विगाहामा नगर बसाउने भनेकोमा यसको क्षेत्रफल धेरै गुना वढी भएको पाइन्छ । जस अनुसार १ देखी २९ व्लकसम्म घडेरीमा प्लटहरु विभाजित गरिएका छन । ती प्लटहरुको संख्या ५२३७ छ । जसको क्षेत्रफल ५९५—१८—१३ विगाहा छ । त्यस्तै औधोगिक क्षेत्रको नाममा केही प्लटहरु छुट्याइएका छन । जसको संख्या १२७ छ । ८ सय विगाहामा सुकुम्बासी बसाउने नाममा २ सय परिवार ४ विगाहाका दरले बसेका छन भने बांकी ८ सय ९८ जना ५ कट्टा देखी लियर २ विगाहा सम्म प्रति व्यक्तिले जग्गा पाएका छन । यसको क्षेत्रफल ३५०—१२—० विगाहा छ । यसको साथै संघ संस्थाको बारेमा सुरुको योजनामा कतै उल्लेख नभएको भएता पनि विभिन्न संघसंस्था,कार्यालय एवं विद्यालयलाई १४८—८—१४ विगाहा जग्गा दिइएको पाइन्छ । यसबाट के बझिन्छ भने स्थापना कालको योजना अनुसार यहां काम भएको छैन । यसमा उल्लेखित क्षेत्रनै टीकापुर नगरपालिकाको मुख्य नगर क्षेत्र हो ।